20180224_182622
नेपाल ग्रामीण विकास बैंक लिमिटेडको आ.व.२०७४/०७५ अवधिको अर्धवार्षिक बजेट/कार्यक्रम प्रगति समीक्षा गोष्ठी प्रदेश नम्बर ६, कैलाली जिल्लाको धनगढीमा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीज्यूको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको थियो । उक्त समीक्षा गोष्ठीमा बैंकका सम्पूर्ण विभागिय प्रमुखहरु, कम्पनी सचिव तथा क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, बुटवल, नेपालगंज र धनगढीका क्षेत्रीय प्रबन्धकहरू, क्षेत्रीय कार्यालयका कर्जा व्यवस्थापन नीति तथा योजना महाशाखाका प्रमुख तथा अधिकृत र बैंकमा कृयाशील रहेका तीन वटै युनियनका अध्यक्ष/प्रतिनिधिहरू गरी कुल २५ जनाको सहभागिता रहेको थियो । २०७४ फाल्गुण ११ र १२ गते दुई दिनसम्म सञ्चालन भएको उक्त गोष्ठीमा बैंकका पाँचवटै क्षेत्रीय कार्यालय तथा विभागहरुबाट प्रस्तुत आ.व.२०७४/०७५ को प्रथम अर्धवार्षिक कार्यक्रमको प्रगति उपर विस्तृत रुपमा (शाखागत) छलफल भएको थियो ।

गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता गर्नु भएका बैंकका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीज्यूले आफ्नो मन्तब्य राख्ने क्रममा बैंकको पाँचवटा क्षेत्रीय कार्यालय अन्तर्गतका इलाका/शाखा कार्यालयहरुमा रहेका समस्याहरु उपर खुला छलफल तथा विश्लेषण गरी कार्यक्रम विस्तार र निस्कृय कर्जा व्यवस्थापनको विषयमा ठोस रणनीति तय गर्न यस किसिमको समीक्षा गोष्ठी अत्यन्त फलदायी हुने बिचार व्यक्त गर्नु भयो । प्रथम अर्धवार्षिक अवधिमा के कति कारणले लक्ष्य अनुरुप प्रगति हुन सकेन भन्ने विषयमा विचार विमर्श गर्दै आगामी दिनमा लक्ष्य पुरा गर्न चालिनु पर्ने रणनीतिहरुको तर्जुमा गर्न यस गोष्ठीले मद्दत पुर्‍याउन सक्नु पर्ने धारणा राख्नु भयो । यूनियनहरुबाट रचनात्मक सहयोग प्राप्त भएको र प्रत्येक समिक्षा पछि जारी गरिने प्रतिवद्धताहरुको कार्यान्वयनमा विशेष ध्यान पुर्‍याउनु पर्ने कुरामा प्रमुख कार्यकारी अधिकृतले जोड दिनुभयो ।

गोष्ठीको उद्देश्य र उपादेयताको वारेमा बैंकका निर्देशक राजेश शर्माले प्रकाश पार्नु भएको थियो । दुई दिनसम्म संचालन भएको उक्त गोष्ठीमा उठेका प्रमुख विषय एवं छलफलको निश्कर्षलाई समावेश गरी बैंकले आगामी दिनमा प्राथमिकताका साथ सम्पादन गर्ने कार्ययोजनाका बारेमा प्रतिवद्धता समेत पास गरेको छ ।