Gosti

नेपाल ग्रामीण विकास बैंक लिमिटेडले आ.व.०७३/७४ अवधिको अर्धवार्षिक बजेट/कार्यक्रम प्रगति समीक्षा विषयक गोष्ठी मोरङ्ग जिल्लाको विराटनगरमासम्पन्न गरेको छ । बैंकका अध्यक्ष श्री माणिकरत्न शाक्य र प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीको समुपस्थितिमा सम्पन्न भएको उक्त गोष्ठीमा बैंकका सम्पूर्ण विभागिय प्रमुखहरु तथा क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, बुटवल, नेपालगंज र धनगढीका प्रमुखहरुको सहभागिता रहेको थियो ।

फाल्गुनको १४ र १५ सम्म सञ्चालन भएको उक्त गोष्ठीमा बैंकका पाँचवटै क्षेत्रीय कार्यालय तथा विभागहरुबाट प्रस्तुत आ.व.०७३/७४ को प्रथम अर्धवार्षिक कार्यक्रमको प्रगति उपर विस्तृत रुपमा (शाखागत) छलफल भएको थियो । गोष्ठीमा आगामी २०७४ आषाढ मसान्तसम्म बैंकले लिएको वार्षिक लक्ष्य पुरा गर्न अवलम्बन गर्नुपर्ने रणनीति र आ.व.०७३/७४ को प्रथम अर्धवार्षिक अवधिको बजेट समिक्षा गरिएको थियो । हाल मुलुकमा देखिएको तरलता असहजताको अवस्थालाई आन्तरिक रुपमा नै वित्तीय श्रोत परिचालन/व्यवस्थापन गर्न बचतमा बृद्धि गरी फण्ड व्यवस्थापनलाई जोड दिने र आ.व.०७३/७४ को बाँकी अवधि २०७४ आषाढ मसान्त सम्मलाई बैंकले निस्कृय कर्जा असुली अभियानको रुपमा संचालन गर्ने समेत निर्णय गरिएको छ ।

गोष्ठीमा बैंकका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि श्री माणिकरत्न शाक्यले शुभकामना दिदै बैंकले स्पष्ट नीति र ठोस योजनाका साथ आफ्ना कृयाकलापहरु अगाडी बढाई रहेको बिचार व्यक्त गर्नु भयो । बैंकले समूह गठन विस्तार, बचत संकलन र निष्कृय कर्जा असुलीमा जोड दिन आग्रह गर्दै अध्यक्ष श्री शाक्यले कर्मचारी व्यवस्थापन, वृत्ति विकास, तालिम कार्यक्रमहरु संचालन तथा उत्तराधिकारी योजना र नयाँ कर्मचारी भर्ना लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

गोष्ठीको उद्देश्य र उपादेयताको वारेमा प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले प्रकाश पार्देै क्षेत्रगत समस्याहरु उपर गहिरो छलफल तथा विश्लेषण गर्न यस किसिमको गोष्ठी अत्यन्त फलदाई हुने बिचार व्यक्त गर्नु भयो । प्रथम अर्धवार्षिक अवधिमा लक्ष्य अनुरुप पुरा हुन नसकेका सूचकांकहरु आगामी अर्धवार्षिक अवधिमा पुरा गर्न बैंक क्रियाशील रहेको र विपन्न वर्गको सेवामा राष्ट्रव्यापी लघुवित्त कारोवार संचालन गरिरहेको नेपाल ग्रामीण विकास बैंकका सामु रहेका प्रमुख समस्याहरुलाई गोष्ठीमा छलफल गरी समस्या समाधानका उपायहरु खोज्न सकिने उहाँले बिचार व्यक्त गर्नु भयो । दुई दिनसम्म संचालन भएको उक्त गोष्ठीले बैंकले आगामी दिनमा गर्ने कार्ययोजनाका बारेमा प्रतिवद्धता समेत पास गरेको छ ।