ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशहरूमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । प्रदेश नं. ५, रुपन्देही जिल्लाको गैडहवा गाऊँपालिकाको मंगलपुर, प्रदेश नं. २, महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका र सूदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीगंगा नगरपालिका, मसुरीयामा यही साउन २६ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर एकै समयमा सम्पन्न गरेको छ । उक्त निःशुल्क स्वास्थ्य शिविरमा १०३० भन्दा बढी स्थानिय जनसमूदायले स्वास्थ्य परिक्षण गराई लाभान्वित भएका थिए ।

रुपन्देही जिल्लाको गैडहवा गाऊँपालिकाको मंगलपुरमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग, पाठेघरको क्यान्सर, हाडजोर्नी, सामान्य चिकित्सा र बाल रोग विशेषेज्ञहरूद्धारा मंगलपुर, सूर्यपुरा, सग्रहवा, गिदैया, पौवा, मिनमिनवा, अमौली, धमौली, भैसहिया आसपास क्षेत्रका करिव ५३५ जना व्यक्तिहरूलाई स्वास्थ्य परिक्षण तथा ल्याव परिक्षण गरिएको थियो । यसैगरी क्षेत्रीय कार्यालय जनकपुर अनतर्गत महोत्तरी जिल्लाकोे मनरासिसवामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग, फिजिसियन, सर्जरी र बालरोगका विशेषज्ञहरुबाट करिव २६० जना व्यक्तिहरूलाई स्वास्थ्य परिक्षण गरिएको थियो भने क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा करिव २३५ जना व्यक्तिहरूलाई नाक, कान र घाँटी रोगको स्वास्थ्य परिक्षण गरिएको थियो । यस क्रममा विमारीहरूलाई स्वास्थ्य परीक्षणसँगै केही औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

रुपन्देही जिल्लाको गैडहवा गाऊँपालिकाको मंगलपुरमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले सुभारम्भ गर्नुभएको थियो । सो अवसरमा उहाँले स्थानिय जनसमुदायको घरदैलोमा यस संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराई लाभान्वित हुन सबैमा आह्वान गर्नुभएको थियो ।

सोही अवसरमा गैडहवा गाऊँपालिकाका अध्यक्ष श्री बच्चुलाल केवटले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर यस क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेकोमा आभार व्यक्त गर्दै यस शिविरबाट लाभान्वित हुन सबैमा अनुरोध गर्नु भएको थियो । क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गत संचालन भएको कार्यक्रममा क्षेत्रीय प्रवन्धक श्री खड्गप्रसाद खतिवडा र क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको कार्यक्रममा क्षेत्रीय प्रवन्धक श्री शैलेन्द्र राज जोशी लगायत संस्थाका अधिकृत तथा कर्मचारीहरूका साथै कार्यक्रम स्थलमा स्थानिय निकायका पदाधिकारीहरू एवं कार्यक्रममा सहयोग पुर्‍याउने विद्यालय परिवारका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

रुपन्देही जिल्लाको गैडहवा गाऊँपालिकाको मंगलपुरमा संचालन भएको स्वास्थ्य शिविरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज टिचिङ्ग हस्पिटल भैरहवाको प्राविधिक सहयोग रहेको थियो भने क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गत संचालन भएको कार्यक्रममा जानकी मेडिकल कलेज शिक्षण अस्पताल, जनकपुरधाम र क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको कार्यक्रममा माया मोट्रो हस्पिटलको प्राविधिक सहयोग रहेको थियो। यसैगरी संस्थाले प्रदेश नं. १, मोरङ्ग जिल्लाको बनिगामामा यहि साउन २८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।