ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ले आफ्नो पाँचौ वार्षिकोत्सवको सुअवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रधान कार्यालय, बुटवल, रुपन्देहीमा साउन २८ गते सञ्चालन गरेको रक्तदान कार्यक्रमको उद्घाटन सञ्चालक समितिका सदस्य श्री नरेन्द्र सिंह विष्टले गर्नु भएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले समेत रक्तदान गर्नु भएको उक्त रक्तदान कार्यक्रममा २७ जना कर्मचारी तथा विभिन्न व्यक्तिहरूले रक्तदान गर्नु भएको थियो ।

मानविय सेवा र धर्मका लागि रक्तदान गरौं भन्ने मूल उद्देश्यबाट अभिप्रेरित भई संस्थाले सञ्चालन गरेको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

यसैगरी संस्थाले विभिन्न प्रदेशहरूमा समेत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नं. २ को जनकपुरधाममा संस्थाको क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा साउन २४ गते सञ्चालन भएको रक्तदान कार्यक्रममा २० जना कर्मचारीहरूले रक्तदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, जनकपुरधामको प्राविधिक सहयोग रहेको थियो भने सुदूर पश्चिम प्रदेशको धनगढी, कैलालीमा संस्थाको क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा साउन २२ गते सञ्चालन भएको रक्तदान कार्यक्रममा ११ जना कर्मचारीहरूले रक्तदान गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र, धनगढी, कैलालीको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले रक्तसञ्चर केन्द्र बुटवलबाट प्रमाणपत्र ग्रहण गर्दै कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नु भएको थियो ।