ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. को पाँचौ वार्षिकोत्सव समारोह २०७६ साउन ३० गते बुटवलमा  सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहको सभापतित्व सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले गर्नुभएको थियो ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले मन्तव्यका क्रममा नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०७६/७७ को मौद्रिक नीतिमा मर्जरमा जाँदा उपलब्ध हुने सुविधाहरूको फाईदा उठाउँदै लघुवित्त संस्थाहरूलाई मर्जरमा जान आब्वान गर्नुभयो । मर्जर पश्चात ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ले हासिल गरेको प्रगति सन्तोष जनक रहेको बताउनु हुँदै गभर्नर डा. नेपालले मर्जर पश्चात बैंक तथा वित्तीय संस्था सफल हुन्छ भन्ने सन्देश पनि ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले दिएको बताउनु हुँदै आगामी दिनमा यस संस्थाले आफ्नो क्षमता अभिवृद्धि र आधुनिक प्रविधिको प्रयोगमा उच्च ध्यान पुर्‍याउनु पर्ने बिचार व्यक्त गर्नु भयो । नेपालमा अझै पनि ३५ प्रतिशत जनता वित्तीय पहुँच बाहिर रहेकाले ती जनतामाझ बैंकल तथा वित्तीय संस्था पुग्न सके अवसरै अवसर रहेको प्रष्ट पार्दै सो अवसरको सदुपयोग गरी लघुवित्त संस्थाहरूले आफ्नो कार्य क्षेत्र विस्तार गर्न एवं ग्रामीण भेगमा वित्तीय साक्षरता अभियान चलाएर वित्तीय पहुँच विस्तार गर्न उहाँले जोड दिनुभयो ।

सञ्चालक समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति माणिकरत्न शाक्यले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था नाफा मुखीमात्र नभएर सेवामुखी भावनाले समेत विभिन्न कार्यहरू गरिरहेको चर्चा गर्दै संस्थाले आफ्नो क्षमता बृद्धि गर्न हाल शेयर पूंजीमा बृद्धि गरेको बताउनु भयो। मनतब्यका क्रममा अध्यक्ष श्री शाक्यले ग्रामीण क्षेत्रमा स्व–रोजगारको अवसर सिर्जना गर्न देश र जनता विशेष गरी महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्न यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको बताउनु हुँदै संस्थाले आगामी दिनमा चाल्नु पर्ने विभिन्न कदमका बारेमा चर्चा गर्नुभयो ।

वार्षिकोत्सव समारोहमा प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले स्वागत मन्तव्य राख्नु हुँदै ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाकोे विगत र वर्तमानको अवस्था तथा आगामी दिनमा संस्थाले अवलम्बन गर्ने योजनाका वारेमा प्रकाश पार्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले संस्था मर्जर हुँदाका समयमा रहेको वित्तीय परिसूचकहरु सुधारको अवस्था उल्लेख गर्दै लगानीमा रहेको कर्जा रु. ३.९६ अर्व रहेकोमा २०७६ आषाढ मसान्तमा सो मा वृद्धि भई लगानीमा रहेको कर्जा रु. ९.९० अर्व पुगेको, मर्जरको समयमा रहेको संस्थाको करिव रु. ७६ करोड सञ्चित नोक्सानीमा उल्लेख्यनीय सुधार भई २०७६ आषाढ मसान्तमा अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चित नोक्सानी रु. ९.८६ करोड मात्र बाँकी रहेको । ऋणात्मक रहेको पुँजीकोषमा उल्लेख्य सुधार भई २०७६ आषाढ मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार पुँजीकोष १०.३८ प्रतिशत कायम भएको जानकारी गराउनु भयो । साथै, मर्जरका समयमा रहेको अन्य ऋणात्मक परिसूचकहरुमा हाल उल्लेख्य सुधार भएको वताउनु भयो । संस्था सुधारवाट हामी खुसि रहेता पनि संस्था सामु हाल रहेका चुनौतिहरुको समाधान नगरी संतुष्ट हुन सकिन्न भन्दै उहाँले लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ कारोवारवाट उत्पन्न जोखिमवाट श्रृजना भएको कर्जा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तर कायम गर्न गर्नुपर्ने थप मेहनत, संस्थामा आधुनिक प्रविधिको प्रयोगका लागि गर्नुपर्ने कार्य र कर्मचारी व्यवस्थापनमा देखिएका चुनौतीका वारेमा चर्चा गर्दै सामूहिक प्रयत्नवाट यी चुनौतिहरुको सामना गर्न संस्था सक्षम रहेको विश्वास ब्यक्त गर्नुभयो ।

उक्त वार्षिकोत्सव समारोहमा चौतारी लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष जगत पोख्रेलले शुभकामना मन्तव्यका क्रममा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गरेको कार्य प्रगतिको प्रशंसा गर्दै नेपालमा रहेको गरिबीलाई न्यूनिकरण गर्न ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. को महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । नेपाल बैंक लि. प्रदेश नं. ५ का प्रमुख पासाङ्ग दोर्जे शेर्पाले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गरेको प्रगति सन्तोष जनक देखिएता पनि लघुवित्तको क्षेत्र वर्तमान समयमा उच्च प्रतिस्पर्धा रहेको हुँदा यस संस्था पनि आगामी दिनमा प्रतिस्पर्धी ढंगले उत्रिनु पर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष रमेश जि.सी., ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. कर्मचारी संघका अध्यक्ष नवराज ढकालसमेतले शुभकामना मनतव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका कम्पनी सचिव दिपक प्रसाद पाण्डेले गर्नु भएको थियो । वार्षिकोत्सवको अवसरमा संस्थामा २५ वर्ष स्थायी सेवा पूरा गरेका ९६ जना कर्मचारीहरूलाई दीर्घ सेवाको कदर स्वरुप दीर्घ सेवा पदक सहित कदर–पत्र प्रदान गरिएको थियो ।

यसैगरी उत्कृष्ट कार्य गर्ने संस्थाका २५ जना कर्मचारीहरू, आ.व. २०७५/७६ को लक्ष्य प्राप्तिमा उत्कृष्ट योगदान गर्र्नेे कार्यालयहरू इलाका कार्यालय पड्सरी–रुपन्देही, शंकरनगर–रुपन्देही, वाणगंगा–कपिलवस्तु, नेपालगंज–बाँके र शाखा कार्यालय अमवा–रुपन्देही, भन्सार– तनहुँ, राझा–बाँके, पिपरा–महोत्तरी, बेलौरी–कञ्चनपुर तथा अनुशासित र लगनशील भई कारोबार एवं व्यवसाय गर्ने २५ जना ऋणी सदस्यहरूलाई पुरष्कृत गरिएको थियो । सो अवसरमा संस्थालाई सर्वाधिक थोक कर्जा सापट उपलब्ध गराउने राष्ट्रिय वाणिज्य बैंक लि., दोस्रो सर्वाधिक थोक कर्जा सापट उपलब्ध गराउने नेपाल बैंक लि. र तेस्रो सर्वाधिक थोक कर्जा सापट उपलब्ध गराउने हिमालयन बैंक लि. लाई सम्मान पत्र प्रदान गरिएको थियो ।

साथै निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण र रक्तदान कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने संघ संस्था, व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रुपमा इजाजतपत्र प्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ले आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा ५७ जिल्लामा १ सय ८८ इलाका तथा शाखाकार्यालयहरु रहेका छन् । संस्थाको प्रधान कार्यालय बुटवल उप–महानगरपालिका वडा नं.–१०, रुपन्देहीमा रहेको छ भने विराटनगर, जनकपुर, बुटवल, नेपालगंज र धनगढीमा क्षेत्रीय कार्यालयहरु रहेका छन् । संस्थाले ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गका समुदाय विशेष गरी महिलाहरुको आर्थिक तथा समाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरु प्रदान गर्दै आईरहेकोछ ।