ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.,क्षेत्रीय कार्यालय धनगढीले सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गत २०७६ जेठ २३ गते आएको प्राकृतिक प्रकोप भिषण हावा हुरीबाट प्रभावित संस्थामा आवद्ध भएका सदस्यहरूलाई रु. एकलाख पचास हजार नगद राहत रकम वितरण गरेको छ ।

D1

यसै क्रममा संस्थाको कार्यक्रममा आवद्ध कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ७ शान्तिपुरमा रहेका ३१ जना हावा हुरीबाट प्रभावित ऋणी सदस्यहरूलाई रु.७६०००।– नगद राहत रकम एक समारोहका बीच क्षेत्रीय प्रवन्धक शैलेन्द्र राज जोशीले हस्तान्तरण गरी राहत वितरणको सुरुवात गर्नु भएको थियो ।

उक्त अवसरमा क्षेत्रीय प्रवन्धक श्री जोशीले हावा हुरीबाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै संस्थाको उद्देश्य कर्जा लगानी, असुली, बचत परिचालन, सीपमूलक तालिम लगायतका कार्यक्रम मात्र संचालन गर्ने नभई ग्राहक सदस्यहरुको हितमा सामाजिक कार्यहरू समेत संचालन गर्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यहरु निरन्तर जारी राख्दै संस्था सदैव सदस्यहरूको साथमा रहने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरीे कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं ८ खुटियामा रहेका ११ जना सोही मितिमा हावा हुरीबाट प्रभावित ऋणी सदस्यहरुलाई रु.७४०००।– नगद राहत प्रदान गरिएको छ । उक्त रकम संस्थाको इलाका कार्यालय अत्तरियाका प्रवन्धक परमानन्द पाण्डेयले एक समारोहका बीच प्रभावित सदस्यहरूलाई हस्तान्तरण गर्नु भएको थियो । राहत रकम हस्तान्तरण कार्यक्रममा क्षेत्रीय कार्यालय धनगढीका कर्जा व्यवस्थापन नीति तथा योजना महाशाखाका प्रमुख जय बहादुर चन्द, अधिकृत लक्ष्मीप्रसाद पौडेल र का.मु सहायक अधिकृत गिरीजा जोशी लगायतको उपस्थित रहेको थियो ।

राहत वापतको रकम प्राप्त गरेकी ग्राहक सदस्य भगवती भट्टले आधी हुरीले गर्दा नजिकको रुख घरमाथि पल्टिदा आफनो टाउकोमा गम्भीर चोट लागि दु:ख पाएको अवस्थामा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले नगद सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गरिन् । सो अवसरमा केन्द्र प्रमुख शान्ति पनेरु र शान्ति कार्कीले मन्तव्यका क्रममा सुख दु:खको अवस्थामा यस संस्थाले ग्राहकहरूको हितमा काम गरिरहेको प्रतिक्रिया दिंदै हावा हुरीबाट प्रभावित सदस्यहरूलाई राहत रकम प्रदान गरेकोमा प्रसंशा व्यक्त गर्नु भयो । संस्थाले विभिन्न समय र स्थानमा प्राकृतिक प्रकोप, आगलागि, विरामी आदिबाट प्रभावित आफ्ना सदस्यहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले ग्राहक संरक्षण कोषबाट सहयोग गर्दै आईरहेको छ ।